Tuesday, November 27, 2012

नेपाली औद्योगिक मजदुरको ज्याला दक्षिण एसियामै बढी


काठमाण्डौं, १३ मंसिर / नेपालको औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरले पाउने ज्याला दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा बढी भएको पाइएको छ । सार्क सदस्य राष्ट्रहरुमध्ये औद्योगिक क्षेत्रका मजदुरले पाउने न्युनतम ज्याला नेपालमा सबैभन्दा बढी रहेको एक सर्वेक्षणले देखाएको खबर कारोबार दैनिकले छापेको छ ।
नेपाल वाणिज्य महासंघ अन्तर्गतको रोजगारदाता परिषद्ले गरेको अनौपचारिक अध्ययनअनुसार मजदुरको न्युनतम ज्याला नेपालमा बढी भएको उल्लेख छ । नेपालमा मजदुरको मासिक ६ हजार ३ सय रुपैयाँ न्युनतम पारिश्रमिक पाउँदै आएका छन् ।
विश्वश्रम संगठन-आईएलओ) को प्रतिवेदन तथा सम्बन्धित मुलुकका रोजगार तथा मानव संशाधन मन्त्रालयहरुका आधिकारीक वेबसाइटमा उल्लेख भएअनुसार नेपाली मजदुरले पाउने न्युनतम ज्यालाको तुलना गरिएको हो 

दाहालले भने- 'अब कांग्रेसको पालो सिद्धियो'


'वातावरण नबिगारौं’

राष्ट्रपति र प्रधानमन्त्रीबीच द्वन्द्व चलिरहेका बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले स्थिति बिग्रिरइनसकेको बताएका छन् । आफ्नो निवास लाजिम्पाटमा प्रमुख दैनिकका संवाददाताहरूसँग उनले राष्ट्रपतिको वक्तव्य संविधानको भावनाअनुसार नभए पनि सहमतिका लागि तत्परता देखाउनु भने स्वाभाविक भएको बताए । सरकार र राष्ट्रपतिबीच द्वन्द्व चर्काउनु नहुनेसमेत उनले बताए ।
राष्ट्रपतिले तोकेको म्यादमा राजनीतिक सहमति भएन भने के हुन्छ ?
राष्ट्रपतिजीले तोकेको मंसिर १४ गतेभित्र राजनीतिक सहमति भयो भने भइहाल्यो, भएन भने मंसिर २१ गते आउँछ जस्तो लाग्छ । जसरी राष्ट्रपतिको अस्तिको वक्तव्यमा संविधानको धारा प्रयोग असंवैधानिक भएकै छ, त्यसको भावनाविपरीत भएकै छ । राष्ट्रपतिजीले दलहरूबीच सहमति होस् भन्नु र त्यसका निम्ति आफ्नो ठाउँबाट तत्परता देखाउनु अस्वाभाविक होइन । त्यसलाई बेठिक भन्न पनि हुँदैन । तर अब राष्ट्रपतिबाट कुनै कदम चाल्ने सोचियो भने त्यो दुर्भाग्यपूर्ण कुरा हुन्छ र स्वयं राष्ट्रपति संस्थाका लागि घातक हुन्छ । मैले राष्ट्रपतिजीसँग पटक-पटक कुरा गरेको छु, त्योचाहिँ राष्ट्रपतिको दिमागमा छैन होला भन्ने मानिरहको छु । अहिले उहाँले सक्रिय होइन भनेको बेला हो, हो भन्न हुँदैन । उहाँ सक्रिय हुन खोज्नुभएको छ भनेर वातावरण बिगार्न सकिन्छ । अहिले वातावरण बिगार्नुभन्दा सङल्याएर सहमतितिर जाने बल गर्नु आवश्यकता हो ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच देखिएको द्वन्द्वले सहमतिका लागि बाधा पार्दैन ?
राष्ट्रपति कार्यालयबाट सरकारलाई पत्र लेखेको हुनाले सरकारले त्यसबारे आफ्नो धारणा पेस गर्न जवाफ दिनुपथ्र्यो । जवाफ किन दियो भन्नु उचित छैन, सरकारलाई चिठी दिएपछि जवाफ दिनु सरकारको कर्तव्य हो ।
यसलाई द्वन्द्वका रूपमा लिनु उचित छैन । मैले सरकारको जवाफको भाषा हेरें, नरम छ । कडा द्वन्द्वतिर लैजानेभन्दा यसरी जान सकिन्छ भनेर नरम ढंगले लिएको देख्छु मैले । सरकारको निर्णयमा आफ्नो कुरा पनि राख्ने र यसो गर्न सकिन्छ भन्ने छ । राष्ट्रपति र सरकारले छिटो सहमतिका लागि वातावरण बनाउनतिर ध्यान दिनुपर्छ । सहमति दलहरूले नै गर्ने हो । सहमति छिटो भयो भने द्वन्द्व स्वतः सकिन्छ ।
सहमति कसरी हुन्छ त ?
हाम्रो भनाइ अहिले पनि बाबुराम भट्टराईको नेतृत्वमा सहमति गर्दा उत्तम हुन्छ भन्ने हो । कांग्रेस-एमालेलगायत अन्य पार्टीहरूले मान्न सकिँदैन भन्दै आएका छन् । यो स्थितिमा बाबुरामजी भए हुन्छ, देश डुबेडुबोस् भन्ने बाबुरामजीको पनि भनाइ छैन, मेरो पनि छैन । उहाँले सहमति होस् एकक्षण पनि बस्दिनँ भनिरहनुभएको छ । त्यसकारण अनावश्यक ढंगले उत्तेजितभन्दा अन्य विकल्प निकाल्न छलफल गर्नुपर्छ भन्ने हो । अन्य विकल्पभन्दा अहिले दलहरूभित्रबाटै पार्टीका नेताहरूबाटै सहमति गर्नुपर्छ भन्ने छ ।
अब कसको नेतृत्वमा सरकार बन्ला ?
अहिले जे जस्तो प्रत्यक्ष, परोक्ष छलफल भएको छ, दलका नेताहरूमै सहमति गर्नुपर्छ भनेर भइरहेको छ । दाबी आ-आफ्ना छन् । बाबुरामजीमा सहमति नहुने हो भने संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनबाटै होस् ।
गठबन्धनभित्रैबाट हुँदा मुख्य घटक माओवादीभित्रैबाट होस्, अर्को उपाध्यक्ष उपप्रधानमन्त्रीका रूपमा सरकारमा हुनुहुन्छ, एउटा त्यो विकल्प हुने भयो । दोस्रो गठबन्धनभित्रैबाट मधेसी मोर्चाबाट विजय गच्छदारले नेतृत्व गर्नुभएको छ । अर्को मधेसको बूढोपाको महन्थ ठाकुरजीको नाम पनि आउने नै भयो । नेपाली कांग्रेसले आफैं दाबी गरेको स्थिति छ । उहाँहरूले हाम्रो पालो भन्नुहुन्छ । अब उहाँहरूको पालो सिद्धियो । संविधानसभा रहेको भए पालो हुन्थ्यो । अब पालोको सिद्धान्तभन्दा सहमतिको सिद्धान्तले काम गर्छ । जे होस् कांग्रेस सरकारको प्रबल दाबेदार पनि हो । कांग्रेसका नेताहरूसँग आफ्नो उम्मेदवार को हो भनेर भनेको छु । छलफल त्यसमा गरौंला भनेको छु । खालि प्रधानमन्त्रीको नाम दिनुस् भन्ने मात्र होइन । प्याकेजमा मार्गचित्र दिनुस् भनेको हो । अस्ति तीन पार्टीको बैठकमा म, झलनाथ, सुशील अनि रामचन्द्र, बाबुरामजी, नारायणकाजी र वामदेवजीबीच छलफल भएको थियो । त्यहाँ राम्रो कुरा भएको थियो । छिटो गर्न प्रधानमन्त्रीले तीन नेता बस्नुस् प्रधानमन्त्रीको नाम टुंग्याउनुस्, मलाई आपत्ति छैन, अरू संविधान सशोधन गर्न विज्ञहरूलाई जिम्मा दिए बनाइहाल्छन् भन्ने कुरा भएको थियो । अहिले पनि पार्टीका नेताहरू बसेर यिनै विषयमा सहमति गर्नुपर्छ । अब लामो तर्क/बितर्क गर्नु आवश्यक छैन । एकठाउँमा बसेर टुंग्याइदिन आवश्यक छ । यतिबेला कसैले पनि उत्तेजित पार्ने भनाइहरू, गतिविधि बिल्कुल गर्नु हुँदैन । शान्ति र संविधानको प्रक्रियालाई हित गर्दैन ।
कांग्रेसको नेतृत्वमा सरकार बनाए के आपत्ति हुन्छ ?
तर संविधानमा सहमति नभइकन कांग्रेसलाई नेतृत्व दिन एमाओवादी र गठबन्धन तयार छैन । हामीले शान्ति र संविधान टुंग्याउँछौं भन्दा पार्टी विभाजन झेल्यौं । हामीले जोखिम उठायौं । संविधान बन्छ भन्ने विश्वासले जोखिम उठाएको हो । सरकार पनि नहुने, सबै छाडेर जाने हो भने माओवादीप्रति घोर अन्याय हुन्छ । जसले शान्ति प्रक्रियाको नेतृत्व गर्‍यो, त्यसलाई ठाउँ नै नदिएर चुनावमा जाने भन्ने कुरा अप्ठ्यारो हुन्छ । हामीलाई थाहा छ, कांग्रेस र माओवादीबीच राम्रो सहमति भएन भने अहिलेको परिस्थितिले निकास पाउन कठिन हुन्छ । सामान्य रूपमा भन्ने हो भने एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चबीच सहमति हुनुपर्छ । ठोस रूपमा भन्ने हो भने कांग्रेस र माओवादीबीच समझदारी बढी आवश्यक छ । कांग्रेसप्रति हाम्रो आग्रह पूर्वाग्रह होइन, परिस्थितिले हामीलाई जोगी भएर हिँड्ने स्थिति न्यायपूर्ण हुँदैन ।
तपाईं र बाबुराम भट्टराईबीच द्वन्द्व बढेको हो ?
आज बिहान बाबुरामजीसँग कुराकानी भयो । बाहिर धेरै भ्रम भयो, यो भ्रमलाई स्पष्ट गर्नुपर्छ भन्ने
कुरा भयो । उहाँले मेरो केही छैन भनेपछि विश्वास गरेर छलफल अघि बढाउँदै छौं ।
संविधानसभा पुनःस्थाना हुने सम्भावना छ कि छैन ?
मैले तत्काल त्यस्तो देख्दिनँ । त्यतातिर लाग्यो भने वैशाखमा निर्वाचन नहुने खतरा बढ्छ, वैशाखमा निर्वाचन नहुने खतरा बढ्नु भनेको संक्रमणकाल झन् लम्बिनु हो । त्यसले प्रगति परिवर्तन डिरेल गर्ने खतरा हुन्छ । वैशाखमा निर्वाचन गर्न ध्यान केन्दि्रत गर्नु सबभन्दा ठूलो आवश्यकता हो । अन्ततिर ध्यान लगाए भने झन् बिगि्रन्छ भन्ने लागेको छ ।
सहमति जुटेन भने संसद्बाट निर्वाचित भएको यही सरकारले वैधानिकता पाउँछ भन्ने चर्चा छ नि ?
यसले त्यसरी मान्यता पाएर अर्थ छैन नि । राजनीतिक सहमति भएन भने निर्वाचनमा जाने ऐन, कानुन, नियम बनेन् भने अघि जान सकिँदैन । सहमतिबिना बन्नेवाला छैनन् । सबै कुरा टुंग्याउन सहमति चाहिन्छ । अहिलेको सरकार पनि वैधानिक नै हो नि । खुरुखुरु काम भएको छैन । राजनीतिक सहमतिबिना अघि जान सकिँदैन ।
तपाईं, राष्ट्रपति, सुशील कोइराला र झलनाथ खनालबीच बजेट ल्याउने बेला अनौपचारिक सहमति भएको भनिन्छ नि ?
बिल्कुल त्यस्तो छैन । एउटा कुरा के हो भने हामीबीच राष्ट्रपति कार्यालयमै खुला छलफल भएको हो । कसैको भित्रीबाहिरी भन्ने होइन । बजेट, निर्वाचन, सरकारबारे खुला कुरा भएको हो । त्यहाँ प्रधानमन्त्रीले म छोड्न तयार छु, मेरोबारे कसैले टेन्सल लिनु पर्दैन, नेताजी, राष्ट्रपतिजीले पनि भन्नुभएको छ । त्यसलाई सहमति भन्ने हो भने भन्नु केही छैन । त्यो बाहिर राष्ट्रपति र अरू कसैबीचमा जेन्टलमेन्ट एगि्रमेन्ट भएको होइन । एउटा कुरा पक्कै हो कि दुई तिहाइ बजेट ल्याउन मैले राष्ट्रपतिकहाँ अलि बढी छलफल गरेको हो । उहाँले सहमति गराउन तपाईंले पूरै नेतृत्व गर्नुपर्छ भन्नुभयो । मैले प्रयास गरिराख्छु भनेको हो ।
तपाईं र राष्ट्रपतिबीच सहमति नभई बजेट आउने नै थिएन !
मैले असाध्यै मिहिनेत गरेर बजेटमा एउटा समझदारी गरेको हो । सहमति नभई निर्वाचनको मिति तोक्दा पनि नहुने भएकाले सात गते आउँदै छ, अगाडि सरकारले निर्वाचन नबोल्दा अप्ठ्यारो हुने भएकाले राष्ट्रपतिजीसँग छलफल गरें । बजेट आएपछि राहत जस्तो भयो ।
सात गते दिनभरि सरकारले राजीनामा दिने चर्चा भयो । बाबुरामजी पनि बिहानै राजीनामा दिन्छु भनेर यहाँ आउनुभएको थियो । मैले त्यो कल्पना गरेको थिएन । प्रधानमन्त्रीले राजीनामा दिने निष्कर्षमा पुग्नु भनेपछि कमसेकम पार्टीमा छलफल गर्नुपर्छ भनेर पार्टीको बैठक बोलाए । बैठकमा एकैचोटि राजीनामा दिन हुँदैन भन्ने तर्क/बितर्क भए । मैले एकैचोटि राजीनामा दिनुभन्दा सहमतिको निम्ति जुनसुकै त्याग गर्न पनि हामी तयार छौं भनेर पहिलो वक्तव्य दिँदा ठीक हुन्छ भनेर त्यसो गरियो । प्रधानमन्त्रीजीले पनि सात गते वक्तव्य दिनुभयो ।
अनि ? आठ गते बिहान फोनबाट मैले राष्ट्रपतिजीसँग कुरा गरें । राष्ट्रपतिजीले अघिदेखि नै सात गतेसम्म राजनीतिक दलले सहमति गरेनन् भने केही न केही वक्तव्य दिएर सात दिनको समय दिएर अपिल गर्छु भन्दै आउनुभएको थियो । मैले आठ गते बिहान फोन गरेर राष्ट्रपतिजी मैले हिजो प्रधानमन्त्रीले सहमतिको लागि त्याग गर्न तयार रहेको क्याबिनेटबाट पारित गरेर सम्बोधन दिनुभयो । यो स्थितिमा अब राष्ट्रपतिजीले वक्तव्य दिन आवश्यक हुँदैन भन्ने मेरो सुझाव थियो । अब दुई/चार दिनमा पार्टीहरूले सहमतिका लागि छलफल गर्छन् भनेको हो । राष्ट्रपतिजीले दुई/चार दिन पार्टीहरूलाई हेर्दा राम्रो हुन्छ र वक्तव्य नदिँदा राम्रो हुन्छ भन्ने सुझाव दिएँ । यो कुरा प्रधानमन्त्रीजीलाई पनि थाहा छ । राष्ट्रपतिजीले बाहिर मिडियामा गइसक्या छ, मैले सामान्य वक्तव्य दिने हो भन्नु भयो । मैले राष्ट्रपतिजीलाई बढी भन्ने कुरा भएन । उसो भए मैले ठिकै छ विचार गर्नुहोला भने ।
आठ गते बेलुका राष्ट्रपतिजीको वक्तव्यको पूरा पाठ हेर्दा गल्ती भएछ भन्ने लाग्यो । यो अपेक्षित थिएन । यो पटक सामान्य वक्तव्य दिएर सात दिनभित्र सहमतिका लागि अपिल गर्नुहुन्छ भन्ने लागेको थियो । त्यही राति मलाई राष्ट्रपतिको भावना सहमतिविपरीत गयो भन्ने महसुस भयो । भोलिपल्ट बिहान पार्टीको बैठक बस्नुपर्छ भनेर बोलाएँ । योचाहिँ गल्ती भएको छ भन्ने कुरा भएको छ । तर राष्ट्रपतिजी र वातावरणलाई उत्तेजित गर्ने कामचाहिँ गर्नु हुँदैन भनेर अन्तिममा भनेको थिएँ । सहमतिको वातावरण नबिगार्ने गरी भन्नुपर्छ भनियो । नौ गते राष्ट्रपतिजीले मलाई बोलाउनुभएको थियो । म सीधै राष्ट्रपति भवनमा गएँ । मैले यस्तो वक्तव्य अपेक्षा गरेको होइन । तपाईंले राजनीतिक वक्तव्य दिनुहुन्छ र सात दिनभित्र सहमतिका लागि दलहरूलाई आह्वान गर्नुहुन्छ भन्ने लागेको थियो । त्यही बुझ्या थिएँ । तपाईंले धारा ३६ र ३८ प्रयोग गरी जसरी जानुभयो, यो संविधानको मर्म र भावनाविपरीत भयो राष्ट्रपतिजी, यसले प्रश्न जन्माएको छ, जनतालाई स्पष्ट गर्नुपर्ने हुन्छ, यसलाई कसरी मिलाउने हो ? सकारात्मक ढंगले मिलाउनुपर्छ भनी मैले स्पष्टसँग भनेको हो । अनि राष्ट्रपतिजीले धारा प्रयोगमा अलि टेक्निकल सल्लाहकार, कानुनी सल्लाहकारहरूले बढी जोड गर्ने हुँदो रहेछ । सल्लाहकारको सल्लाहअनुसार ठिकै हो भन्ठानेको हो । तर मेरो उद्देश्य अरू केही कदम चाल्ने पनि छैन । मेरो उद्देश्य तपाईंहरूले मान्नु भएन भने पनि पार्टीहरूलाई नै भन्ने हो । निर्णय गर्ने तपाईंहरूले नै हो भनेर राष्ट्रपतिजीले भन्नुभएको थियो । मैले केही गर्छु भन्ने उहाँको स्पि्रट थिएन ।
सहमतिका लागि अब तपाईंको भूमिका के हुन्छ ?
यसबीच मैले खेलेको भूमिकाको कुरा गर्ने हो भने छिटो राष्ट्रिय सहमति गराउन विभिन्न उपायहरू खोजी गरिरहेको छु । मैले पार्टीका तर्फबाट राजनीतिक निकासको मार्गचित्र भनेर कांग्रेस, एमाले र सबैलाई दिएको छु । संविधानमा भएको सहमतिको आधारमा घोषणा गर्न सके उत्तम हो । त्यसो भने कांग्रेसको नेतृत्वमा सरकार बनाउन हामीलाई आपत्ति छैन । तर योचाहिँ सम्भावना सीमित भएको हुनाले अब निर्वाचनमा जानुपर्छ । वैशाखमै गर्नुपर्छ । २४० निर्वाचन क्षेत्र हुनुपर्छ, संविधान संशोधनको विधि विशेषज्ञको राय सल्लाह लिनुपर्छ र राष्ट्रिय सहमतिको सरकार हुनुपर्छ । त्यसका निम्ति बाबुरामजीको नेतृत्वको सरकार नै सबभन्दा सहज र स्वाभाविक हुन्छ भनेर लिखितरूपै दिएको सबैलाई थाहा छ । मैले विशेष पहल गरेर सुशीलजी, झलनाथजीलाई बोलाएर गरें । सुशीलजीलाई अझ धेरै पटक यही सरकारमा आउनुहोस्, पहिलो रोजाइ कांग्रेसको होस्, दोस्रो एमाले र त्यसपछि मोर्चाको हो भनेको हुँ । त्यतिमात्रै होइन, बाबुरामजीकै नेतृत्वमा सरकार हुँदा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाऔं, त्यो संयन्त्रको नेतृत्व पनि सुशीलजीले गर्नुहोस्, मलाई आपत्ति छैन भनेको हुँ । अहिले पनि मलाई के चिन्ता छ भने १२ बुँदे समझदारी भयो, सेना समायोजन भयो, हतियारको समस्या हल भयो । यस्तो अवस्थामा संविधानको कुरा नटुंगिनुले सबैलाई चिन्ता भएको छ । मलाई साँच्ची नै पीडा महसुस हुन्छ । मैले आफ्ना लागि केही सोचेको छैन । सहमति गरेर छिटो निर्वाचन घोषणा गर्ने अवस्थामा देशलाई पुर्‍याउनुपर्छ भन्नेबाहेक मेरो केही पनि छैन ।

अर्को मंसिरमा राष्ट्रिय परिचयपत्र पाइने


काठमाण्डौं, १३ मंसिर / आगामी मंसिरभित्रै नागरिकताको सट्टा वितरण थालिसक्ने गरी सरकारले प्राविधिक तयारी अघि बढाएको छ ।
सवै नागरिकको व्यक्तिगत विवरण राष्ट्रिय तथ्यांक भण्डारमा समावेश गर्दै परिचय नम्बर प्रदान गर्ने गरी राष्ट्रिय कार्ड वितरण गर्न लागिएको हो । सरकारले मेसिनले पढ्नसक्ने (मेसिन रिडेवल) कार्डका रुपमा राष्ट्रिय परिचयपत्र छाप्ने उपकरण खरिदको टेन्डर प्रक्रिया थालिसकेको खबर नागरिक दैनिकले छापेको छ ।
‘आगामी मंसिरदेखि नै सरकारले नागरिकताको सट्टा राष्ट्रिय पचियपत्र ‘स्मार्ट कार्ड’ वितरण गर्नसक्ने गरी टेन्डर प्रक्रिया अघि बढाईएको छ,’ गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका प्रमुख कार्यकारी निर्देशक तुलसीप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो अव एसियाली विकास बैंकबाट बोलपत्र अनुमोदन भएपछि दुई साताभित्रै टेन्डर सूचना प्रकाशित हुनेछ ।

Monday, May 31, 2010

"जनवाद्" साप्ताहिक पत्रीका छिट्टै आउँदै छ... प्रतिक्षा गर्नुहोला...

सत्य, तथ्य र निश्पक्षा समाचार तथा लेख रचनाहरुद्वारा सम्पुर्ण नेपाली जनताहरुलाई यथार्थ सुचना तथा खबाराहरुको जानकारी दिएर सचेत र जागरुक बनाउने उधेश्यले हामिले "जनवाद" साप्ताहिक पत्रीका प्रकाशित गर्न लागेका छौँ । हामी सधै तपाइहरुको लेख्, रचना, सुझाव्, सल्लाह तथा प्रतिकृयाको अपेक्षा गर्दछौँ । साथै यदी तपाइहरुको वरपर कुनै घटना घटेको छ भने हामिलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ । पत्राचारको लागी हाम्रो ठेगाना : हेटौडा-४, स्कुलरोड्, मकवानपुर । टेलिफोन : ०५७-५२६५२८ । इमेल : sangeen.2s@gmail.com